२८ भदौ । काठमाडौंको वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा पुन: सुरु गरिएको छ । शुक्रबार वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘डा. केडी जोशी जलन उपचार केन्द्र’को शुभारम्भ गरेका हुन् ।
जलनका बिरामीका लागि अस्पतालमा १० वटा जनरल बेड, पाँचवटा आईसीयू बेड र तीनवटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ ।
वीरले आठ वर्षपछि जलनको पुन: उपचार थालेको हो । २०७२ को विनाशकारी गोरखा भूकम्पले बर्न वार्ड रहेको भवन भत्किएपछि जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।
जलनका बिरामीलाई आवश्यक सबै उपचार सेवा केन्द्रबाट दिइने अस्पतालले जनाएको छ ।
अस्पताल निर्देशक डा. सन्तोष पौडेलले झन्डै दुई वर्षअघि आफ्नो नियुक्तिको पहिलो निर्णयमा नै बर्न युनिट सुरु गर्ने बताएका थिए । तर, जनशक्ति, स्थान अभावसहितका कारणले सेवा सुरु गर्न ढिलाइ भएको थियो ।
प्रतिक्रिया