६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को गीतमा सृष्टि र नाजिर रोमान्टिक मुडमा



काठमाडौं
६ असोज । चलचित्र ‘मिसिङ ः केटी हराएको सूचना’को गीतमा सृष्टि र नाजिर रोमाण्टिक मुडमा देखिएका छन् ।
पोस्टप्रोडक्सनमा रहेको यस चलचित्रको पहिलो गीत सार्वजनिक भएको हो ।
‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ । नेपालका तराई क्षेत्रमा भिडियो छायांकन भएको भिडियोले पुष्टि गर्छ ।
गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ ।

गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित नरहेको भावमा गीत लेखिएको छ ।

 

सपनामा देखेजस्तो हो कि विपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ ।

जिन्दगीको उत्तरार्धमा आइपुग्दा पनि यथार्थमा जिन्दगी के हो भन्ने थाहा नहुने गरेको भन्दै बीचमा आउने दुःख, हाँसो, घाम र छाया, मिलन तथा बिछोड किन भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी आफैँमा एक आश्चर्य हो भन्ने बताउन खोजेको छ ।
चलचित्र ‘मिसिङ ः केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ ।
यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।
उनी स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ ।
नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ०९ बजे