२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दशैंमा उपत्यकाका ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना



१ कात्तिक । काठमाडौं उपत्यकामा दशैंको अवधिभर ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर)मा जम्मा ११ वटा मात्रै चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

जसमध्ये काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी विनोद घिमिरेले बताए । यो विवरण दशैंको अवधि १७ गतेदेखि २८ असोजसम्मको हो । उक्त अवधिमा विशेषगरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको एसएसपी घिमिरेले बताए ।

अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्न भएकामध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको कोठाबाट १७ लाख रुपैयाँ बराबरको चोरी घटनामा संलग्न भएकाहरु लाई समेत पक्राउ गरिएको उनले बताए ।

त्यसैगरी १७ देखि २८ असोजसम्मको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा १३० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४ जनाको ज्यान गएको छ । जसमध्ये ३ जनाको मृत्यु आफ्नै लापरबाहीका कारण सवारी दुर्घटना भएर मुत्यु भएको प्रहरीको भनाइ छ । अर्का एक जनाको मृत्यु भने ‘हिट एण्ड रन’बाट भएको एसएसपी घिमिरेले बताए ।

हिट एण्ड रन’ घटनामा संलग्न विराटनगर उपमहानगरपालिका–१७ घर भई ललितपुर कुपन्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउसमेत परेका छन् । घटनाको चार दिनपछि कुपन्डोलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ११ : १४ बजे