२९ कात्तिक । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने चलचित्र बनेको छ । चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा २७ करोड रूपैयाँ सङ्कलन गरेको छ ।
कात्तिक १५ गतेदेखि चलचित्र प्रदर्शनमा आएको हो । निर्माता विनोद पौडेलले चलचित्रले मंगलवारसम्म २५ करोड तीन लाख र बुधबार दुई करोड रूपैयाँको हाराहारीमा व्यापार गरेको जानकारी दिए ।
यो चलचित्रले एकै दिन तीन करोड ८९ लाख रूपैयाँको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ ।
यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले २३ करोड ५० लाख रूपैयाँको व्यापार गरेको बताइएको छ ।
नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । निर्माता पौडेलले पूर्वबाट भ्रमण सुरु गरेको छ । भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइली लगायत रहेका छन् ।
प्रतिक्रिया