यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उनले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ
२ मंसिर । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले हरेक दिन औसत ५० लाख व्यापार गरेको छ ।
चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड व्यापार (ग्रसकलेक्सन) गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
चलचित्रले अहिलेसम्म थुप्रै रेकर्ड कामय गर्न सफल छ । एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो चलचित्र प्रर्दशन भइरहेको छ ।
यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।
उनले भने, “यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उनले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।”
‘पूर्ण बहादुरको सारङ्गी’ टिम चलचित्र मन पराइदिएको र सपोर्ट गरिदिएको भन्दै धन्यावाद दिन मोफसलका हल–हल पुगिरहेका छन् । यो भ्रमणमा निर्माताहरुसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।
यही भ्रमणका क्रममा निर्माण कम्पनी सेभेन सिस सिनेमाले ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको दिएको देखेपछि मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने निर्माणपक्षले निर्णय गरेको छ ।
हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरमा आज (शनिबार)देखि चलचित्र प्रदर्शन नहुने जनाएको छ ।
सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
प्रतिक्रिया