११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चिसो पेय उत्पादक वरुण बेभरेजलाई ७ करोड जरिवाना



११ मंसिर । पाटन उच्च अदालतले नेपालमा पेप्सीकोला‚ मिरिन्डा र सेभेनअपलगायतका चिसो पेय उत्पादक वरुण बेभरेजलाई ७ करोड रुपैयाँ जरिबानाको फैसला गरेको छ।

वरुण बेभरेजले झुटा तथा नक्कली बिजक बनाएर २७ करोडभन्दा बढी राजस्व चुहावट गरेको ठहर गर्दै चुहावटको रकम असुलसहित थप ७ करोड रुपैयाँ जरिबाना हुने फैसला अदालतले गरेको हो। अदालतले २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ राजस्व वरुण बेभरेजले चुहावट गरेको ठहर्‍याएको छ।

अदालतले कर छलीमा संलग्न रहेको ठहर गर्दै कम्पनीका तत्कालीन वित्त प्रमुख अमित गुप्तालाई १ करोड रुपैयाँ जरिबानासहित एक वर्ष कैद सजायको फैसला सुनाएको छ।

पाटन उच्चका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलासले बेभरेजलाई आव ०७०/७१ देखि ०७५/७६ सम्मको कर छलीमा दोषी ठहर्‍याएको हो।

अदालतले आयकर, मूल्य अभिवृद्धि कर र लाभकरसमेतमा कम्पनीलाई दोषी ठहर गरेको छ। बेभरेजले मूल्य अभिवृद्धि कर (भ्याट) ९ करोड २८ लाख २७ हजार २१९ रुपैयाँ, आयकर १४ करोड २८ लाख ११ हजार १०६ रुपैयाँ र लाभकरमा ३ करोड ५७ लाख २ हजार ७७६ रुपैयाँ राजस्व चुहावट गरेको ठहर अदालतको रहेको छ।

अदालतको फैसलामा “प्रतिवादीमध्ये वरुण बेभरेज (नेपाल) प्रालिलाई ७ करोड रुपैयाँ तथा अर्का प्रतिवादी अमित गुप्तालाई १ करोड रुपैयाँ जरिबाना हुने ठहर छ” उल्लेख छ।

नक्कली मूल्य अभिवृद्धि कर बीजक कारोबार गर्ने फर्महरूसँग त्यस्ता नक्कली कर बीजक खरिद गरेको आरोपमा बेभरेजमाथि रावस्व चुहावट कसुरमा मुद्दा दायर गरिएको थियो।

अदालतले मुद्दामा प्रतिवादी बनाइएका अशोक कुमार, रविकान्त जयपुरिया, रोहित कोहली, विनोदकुमार सिंह र प्रवीणकुमार अग्रवाललाई भने सफाइ दिएको छ।

अदालतले उनीहरूलाई कसुरमा प्रत्यक्ष संलग्नताको प्रमाण नभेटिएको भन्दै सफाइ दिएको हो। अदालतले अभियोग दावीसँगै लिइएको बिगो गणना र असुललाई भने नकारेको छ।

अदालतले फैसलामा पछि निर्मित कानूनअनुसार बिगो गणना र असुल गर्न नमिल्ने उल्लेख गरेको छ। संशोधनपछि कायम भएको कानूनका आधारमा शुल्क, ब्याज र जरिबानालाई बिगोमा गणना गरी सजाय गर्न नमिल्ने उल्लेख अदालतको फैसलामा छ।

बेभरेजले राजस्व चुहावट गरेको फैसला पोहोर साल पुसमा नै गरेको भए पनि फैसलाको पूर्णपाठ भने हालैमात्र सार्वजनिक भएको हो।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ७ : १८ बजे