१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


मकवानपुरमा भएका विभिन्न घटनामा तीन जनाको मृत्यु



कान्ति लोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–६ चौघडाबजारमा आज अटो रिक्साको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ

बागमती
मकवानपुरका विभिन्न स्थानमा आज भएका छुट्टाछुटै घटनामा तीन जनाले ज्यान गुमाएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–८ दारीमबासमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
विद्युत् प्राधिकरणले जडान गरेको ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुइँमा लत्रिएको नाङ्गो तारमा करेन्ट लागेर स्थानीय ३८ वर्षीय मङ्गलसिंह प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

करेन्ट लागेर अर्का स्थानीय ४० वर्षीया इन्द्रमाया मगर घाइते भएकी र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताएका छन् ।

कान्ति लोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–६ चौघडाबजारमा आज अटो रिक्साको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । हेटौँडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं को अटोले ठक्कर दिँदा पदैलयात्री ६८ वर्षीय जनक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते राईको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घरको मर्मत गर्ने क्रममा छतबाट खस्दा हेटाँैडा उपमहानगरपालिका–४ नेपालचोकमा एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय युवराज बिडारीको घरको दुई तलामाथि जस्तापाता लगाउने काम गर्ने क्रममा हेटौँडा उपमहानगपालिका–१३ पदमपोखरी निवासी ४१ वर्षीय सविन दुलालको खसेर मृत्यु भएको हो ।

एक्कासी दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका दुलालको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : ४३ बजे