काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यकारी निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।तत्कालीन कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्री समेतले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारको विज्ञप्तिमा उल्लेख छ, ‘आव ०७३/७४ मा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालयले हिल साइड पोलिटेक्निक इन्स्टिच्युट प्रालि अछाम, साँफेबगर नगरपालिका–७ लाई प्रक्रिया नपुर्याई हचुवाको भरमा रकम दिएको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आव २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत अछाम जिल्लाको साँफेबगर नगरपालिका–७ स्थित हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिसँग मिति २०७४/०२/०७ मा भएको सम्झौतामा मिति २०७४।०२।१५ गतेसम्ममा कार्यसम्पन्न गरी अनुदान रकम भुक्तानी लिनेछ भनी उल्लेख भएकोमा अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ मा हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिद्वारा लागत साझेदारीमा निर्मित पशु हाटबजार सञ्चालनमा नरहेको, पशु हाटबजार परिसर जग्गा धनी आफैंले नियन्त्रणमा लिई व्यक्तिलाई भाडामा दिएको, संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केही आइटमहरूको काम नभएको, केही आइटमहरूको कम काम भई बढी मूल्यांकन भएको र केही आइटमहरूको दोहोरो मूल्यांकन भई बढी भुक्तानी भएको रकम ६३ लाख ४६ हजार ९४३ रुपैयाँमध्ये लागत साझेदारीको आधारमा कार्यालयले व्यहोर्नुपर्ने ७० प्रतिशतबापत हुने रकम ४४ लाख ४२ हजार ८६१ रुपैयाँ हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिलाई झूटा बिल भरपाई समेतको आधारमा बढी भुक्तानी गरे/गराएको पुष्टि भएको ।’
यसरी भ्रष्टाचार भएको खुलेपछि अख्तियारले पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वर प्रसाद खनाल, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिका अध्यक्ष लोकबहादुर बोहरा, कार्यालय व्यवस्थापक सुरतबहादुर भूल, इन्जिनीयर पुष्कर भण्डारी समेतको आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ तथा नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि–नोक्सानी गर्ने बदनियतले गरेको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिम कसूर भएको जनाएको छ ।
प्रतिक्रिया