२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सुदूरपश्चिमको घातक बलिङसामु निरीह जनकपुर, ७२ रनले पराजित



२६ मंसिर । नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्समाथि सहज जितका साथ सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।

बुधवारको पहिलो खेलमा जनकपुरलाई ७२ रनले हराउँदै सुदूरपश्चिम लिगको शीर्ष स्थानमा उक्लिएको हो । सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र जोड्न सक्यो । यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो । यसअघि पोखरा एभेन्र्जसले चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो ।

जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए ।

ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए ।सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए । तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा जोशुवा ट्रम्पबाट क्याच आउट भएका थिए ।

सेफ अलि जेबले २१ बलमा २ छक्काको सहयोगमा २१ रन बनाएका थिए । पहिलो विकेटका रुपमा सेफ आठौं ओभरको चौथो बलमा आउट भए ।

सेफ हर्ष ठाकरको बलमा अरनिको यादवबाट क्याच भए । इशान पान्डेले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन जोडे । इशान किशोर महतोको बलमा जिमी निशमबाट समातिए ।

१८औं ओभरमा जनकपुरका तीव्र गतिका बलर किशोर महतोले ४ विकेट लिएपछि टोली पूर्णत खेलमा हाबी बनेको थियो । पावर प्लेमा सुदूरपश्चिमले कुनै विकेट नगुमाई ४२ रन जोडेको थियो । पछिल्लो १४ ओभरमा ८१ रन जोड्दै ९ विकेट गुमाएको थियो ।

दोस्रो विकेटका रुपमा यसै खेलबाट एनपिएल डेब्यु गरेका हर्मीत सिंह आउट भएका थिए । सिंहले ३ बलमा १ रन मात्र जोड्न सके । सिंहलाई शेरले बोल्ड आउट गरे ।

चौथो विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरी रनको खाता नखोल्दै आउट भए । सुदूरपश्चिमको पाँचौ खेल जारी रहँदा कप्तान दीपेन्द्र पहिलो पटक रनको खाता नखोल्दै आउट भएका हुन् ।

दीपेन्द्रले विराटनगर किंग्सविरुद्ध नट आउट ५७, काठमाडौं गुर्खाजविरुद्ध ४३, लुम्बिनी लायन्सविरुद्ध नट आउट ३९ तथा चितवन राइनोजविरुद्ध १ रन बनाएका थिए ।

पाँचौ विकेटका रुपमा बे्रन्डन मक्मलेन ११ रन बनाउँदै आउट भए । १७ बलको सामना गरेका मक्मलेन अरनिकोको बलमा यसै खेलमा एनपिएल डेब्यु गरिरहेका जोशुवा ट्रम्पबाट समातिए ।

आरिफ शेख ६, स्कट कुगेलेन ७ नरेन साउद ३ रनमा आउट भए । अभिनास बोहोरा २ तथा नरेश बुढाऐर ९ रनमा नट आउट रहे । जनकपुरका लागि किशोरले ४ तथा अरनिको यादव र शेरले समान २ तथा हर्ष ठाकरले १ विकेट लिए ।

पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ । जनकपुर हारका साथ २ खेल अगाबै प्लेअफ पुग्न चुकेको छ ।

जनकपुरले बिहीबार काठमाडौंसँग खेल्ने छ । सुदूरपश्चिमले आइतवार दिउँसो पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच‌ आज दोस्रो खेल हुँदैछ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ५५ बजे