२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका विभिन्न स्थानमा पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने



२६ मंसिर । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागिएको जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न स्थानमा छुट्टाछुट्टै फिडरहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले तीन फिडरअन्तर्गत क्षेत्रहरुमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । बिहीबार मच्छेगाउँ फिडरअन्तर्गतका भत्केपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

प्राधिकरणका अनुसार शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ भने पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मैत्रीनगर इशानेश्वर मन्दिर क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । यसैगरी, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमूलको दोभान पुल क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ५७ बजे