९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, प्रसारण लाइन सञ्चालनमा



२८ मंसिर । पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबिचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका– १३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका– ५ सम्मको साढे २१ किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका– ११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारणलाइनलाई चार्ज गरिएको हो ।

नयाँ बुटवल–बर्दघाट प्रसारणलाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौँडासम्म २२० केभी प्रसारणलाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारणलाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्ने प्राधिकरणले जनाएको छ ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी करिडोर र नयाँ बुटवल–नयाँ भरतपुर–हैटौँडासम्मको २२० केभी प्रसारणलाइन लिंक बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्व–पश्चिम विद्युत् प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताए।

‘आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारततर्फ निर्यात गर्न र हिउँदयाममा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुनेछ, नयाँ बुटवल–गोरखपुर दोस्रो सीमापार प्रसारणलाइन निर्माण सम्पन्न भएपछि विद्युत् आयात–निर्यातको थप ढोका खुल्नेछ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘मुख्य रूपमा कालीगण्डकी तथा मर्स्याङ्दी र ती नदीहरूका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुनेछ ।’

मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुनेछ । नयाँ भरतपुरबाट विद्युतलाई हेडौँडा र नयाँ बुटवलतर्फ पठाउन सकिनेछ । भारतसँगको नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणाधीन छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको नयाँ बुटवल–बर्दघाट प्रसारण लाइनको अनुमानित लागत करिब एक अर्ब रुपैयाँ छ । सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको साढे चार किलोमिटर चार सर्किट (मल्टी सर्किट) लाइन निर्माण गरिएको छ । सोही मल्टिसर्किट टावरमा कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन जोडिएको छ ।

मुलुकभित्र उत्पादित विद्युतकाे आन्तरिक खपत र द्वसपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण तथा वितरण प्रणालीको विस्तार एवं सदृढीकरण गर्न आयोजना सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिमा पूरा गर्नुपर्ने लामो प्रक्रिया, कोभिड– १९को महामारी, चुरे क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्नेलगायत कारण प्रसारणलाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले उल्लेख गरे । प्रसारणलाइन निर्माणका लागि पावर चाइन सेप्को १ लिमिटेडसँग २०७६ पुसमा ठेक्का सम्झौता भएको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : ४४ बजे