२ पुस । ललितपुर महानगरपालिकाले १०६औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष पुस २ गते महानगरले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महानगरले विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । दिवसको अवसर पारेर महानगरले एक वर्षभित्र गरेका कामहरूलाई चित्रमा उतारेर ‘अदृश्य कामहरू दृश्यमा’ नाम दिएर हिजो सार्वजनिक गरेको थियो । महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा भएका कामहरूलाई सचित्र उतारेर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा महानगर प्रहरीले ढल सरसफाइदेखि आगलागी नियन्त्रण, ढुङ्गेधारालगायत सांस्कृतिक र पौराणिक महत्त्व बोकेका संरचनाको सरसफाइ एवम् संरक्षणमा गरेका कामहरूलाई चित्रमा उतारिएको थियो । महानगरभित्र असरल्ल परेका तारहरू हटाइएको र पाटी पौवाहरूमा पलाएको झार हटाएका कार्यहरूसमेत चित्रमा समावेश छन् ।
ललितपुर महानगरले अनधिकृत संरचना हटाएको, बाढी पहिरोमा परेकाको उद्धार गरेको, सडक बालबालिकाहरूको उद्धार गरेको, महानगरभित्र सहज ढङ्गले हिँडडुल गर्नका लागि सडकमा हुने गाडी पार्किङ हटाइएको लगायत कामहरूलाई समेटेको छ ।
प्रतिक्रिया