४ पुस । धादिङ गजुरी गाउँपालिका वडा नं. ४ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगल खरिबोटमा डेरामा बस्ने १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत मंसिर २९ गते रातिदेखि सम्पर्कविहीन सरिता खोजतलासका क्रममा पुस ३ गते सतुंगल खरिबोटस्थित आफ्नै डेराकोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्।
सरिताका दाइ नवीन रुम्बा तामाङले पुस १ गते दिउँसो सरिताको हुलियासहित प्रहरी वृत्त थानकोटमा निवेदन दिएपछि प्रहीले खोजी थालेको थियो। त्यस क्रममा सतुंगल खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरको भुइँतलामा डेरा गरी बस्ने सरिता उनकै लो बेडमुनि मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सरिता नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा कक्षा १० मा पढ्थिन्।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी घटनामा संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नं. १४ खड्कागाउँस्थित डेरा कोठाबाट पुस ३ गते २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। उनको घर भने धादिङको गजुरी गाउँपालिकाकै वडा नं. ३ मा रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया