देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै आज दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रा
भक्तपुर
मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा, नाच प्रदर्शन गरी पूजा ग्रहणसँगै नवदुर्गा जात्रा सम्पन्न भएको छ । जात्रा सम्पन्न भएसँगै देवगणहरू आजदेखि बिदा भएका हुन् ।
गत आइतबार भक्तपुरबाट मध्यपुरथिमि आएका नवदुर्गासहित देवगणहरूले आजसम्म मध्यपुरथिमिको विभिन्न क्षेत्रमा पुगेर नवदुर्गा नाच प्रदर्शन गर्नाका साथै टोलटोलवासीले नवदुर्गालाई दिएको पूजा ग्रहण गरेर आज भक्तपुर फर्किएका देवगणमध्येका कृष्णप्रसाद बनमालाले जानकारी दिएका छन् ।
मल्लकालभन्दा अघिदेखि तान्त्रिक शक्तिमा चल्दै आएको देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै आज दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रासमेत सञ्चालन भएको थियो । उनले आज माछा मार्ने जात्रा गरी अन्तमा स्थानीयले नवदुर्गाको पूजा गरी बिदाइ गरेका बताए ।
एक साताको अवधिमा मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारी, नगदेशलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयले पूजा ग्रहण गर्दै आज मध्यपुरथिमिबाट बिदा गरेका उनले जानकारी दिए ।
नवदुर्गाअन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसँगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
प्रतिक्रिया