१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


नवलपरासीको रामग्राममा भेटियो बुद्धकालीन सहरको संरचना



उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्विक सामग्री फेला परेको

नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरिएको छ ।
पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्विक सामग्री फेला परेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए ।

यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्नेगरी बुद्धकालीन सहरको संरचनासहित विभिन्न सामग्री पनि भेटिएका छन् । कोलीय गणराज्यको महत्त्वपूर्ण सहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले गरेको उत्खननले महत्त्वपूर्ण प्रमाणसहितका संरचना भेटिएका हुन् । यसअघि भएको जियोफिजिक्स सर्भे (भूभौतिक अध्ययन)का क्रममा देखिएको बुद्धकालीन सहरको संरचना उत्खननका क्रममा फेलापरेको छ । ती सामग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उनको भनाइ छ । पण्डितपुरमा उत्खनन टोलीले एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेर सो क्षेत्रको प्राचीन सांस्कृतिक अवस्थाका विषयमा पनि अध्ययन गरेको छ । बौद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताएका छन् ।

 

यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका भएको पुष्टि भइसकेको

यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका भएको पुष्टि भइसकेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसँग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्व विभागले जनाएको छ । उक्त स्थलको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । पुरातात्विक क्षेत्र भएकाले सो क्षेत्रको संरक्षण गर्न तारबार गर्ने योजना बनाएको उनले बताए ।

पण्डितपुरमा गरिएको उत्खननका क्रममा जमिनको सतहबाट १० सेन्टिमिटर पुरातात्विक संरचना फेलापरेका छन् । सामान्य खनजोतका क्रममा पनि पुरातात्विक सामग्री भेटिने पण्डितपुर संवेदनशील पुरातात्विक क्षेत्रका रूपमा रहेको छ । केही सार्वजनिक र धेरै निजी स्वामित्वका जग्गा रहेको पण्डितपुरलाई संरक्षण गर्न भौतिक संरचना निर्माण तत्काल रोक्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । झण्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलिय गणराज्यको राजधानीको रूपमा दाबी गरिँदै आइएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ०४ बजे