१९ पुस २०८१, शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेपछि फास्ट ट्रयाक निर्माणमा समस्या, बैकल्पिक व्यवस्था हुँदै



हाम्रो कारणले राष्ट्रिय गौरबको आयोजनाको काम प्रभावित हुनुहुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पु¥याएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौँ

काठमाडौं
गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमतीखोला साना जलविद्युत्को विद्युत्गृहलगायतका संरचनामा ठूलो क्षति पु¥याइ विद्युत् उत्पादन बन्द हुँदा दक्षिण ललितपुरको माल्टा सव स्टेशन श्रोतविहीन बनेको छ ।
सब स्टेशनमार्फत विद्युत प्रवाह नभएपछि पछिल्लो समय फास्टट्रयाकको काम प्रभावित भएको खबर छ । त्यसपछि फास्ट ट्र्याक अन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।
बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने स्वीचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायतका उपकरणसमेत बगाइ दिएको थियो । आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो ।
माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को दुई मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो ।
बाढीपहिरोले खानीखोलामा पनि क्षतिपुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो ।
अहिले दुवै आयोजनाको पुनःनिर्माण चलिरहेको छ । विद्युत् आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले आज माण्डु माल्टाबेँसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबँेसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत दिने भएको छ ।
विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन । फास्ट ट्र्याकको माण्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको हो ।
फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाडौँमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।
ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हाल पाँच एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो ।
टोलीले पुनःनिर्माण भइरहेको बागमतीखोला साना जलविद्युत् आयोजना र ढोर्सिङ्ग सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पबारे सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो । आयोजनाको पुनःनिर्माण आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ । कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्र्याकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताउक्ँ छन् ।
“हाम्रो कारणले राष्ट्रिय गौरबको आयोजनाको काम प्रभावित हुनुहुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पु¥याएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौँ”, उनले भने । उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनःस्थापनाका लागि स्थानीय रुपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौँडा वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १० : ०४ बजे