विश्वव्यापीरुपमा ठूला ठूला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन
काठमाडौँ
अङ्ग्रेजी वर्ष सन् २०२४ नेपालमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो ।
यो बर्ष नेपालमा साना–ठूला विमान दुर्घटना भए । दुर्घटनामा दर्जनौं मानवीय क्षति बेहोर्नुपर्यो ।
सन् २०२४ मा नेपाल विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुदाँ १८ जनाको मृत्यु भएको थियो । यस्तै अगष्त ७ (साउन २३ गते) काठमाडौँको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको थियो । सन् २०२३ मा यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो । यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठूलो हो ।
बुद्ध एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाका हिसावले दुःखद् रहे पनि नेपालमा भने केही सुधार भएको बताउछन् । “नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ । तर, विश्वव्यापी रुपमा हेर्दा वर्षको समाप्ती हुनैलाग्दा निरन्तर ठूला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसावले दुखःद् मानिन्छ”, उनले भने । नेपालको हकमा हवाई सुरक्षा अभिवृद्धि भएको मान्न सकिने उहाँको धारणा छ । यद्यपि, सौर्य एयर र एयरडाइनेस्टी हेलिकप्टर दुर्घटनाले पुनः एकपटक झस्काएको छ । यसबाट एभिएसन सेफ्टी र सेक्युरिटीका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नेतर्फ एयरलाइन्सहरुको ध्यान जान जरुरी रहेको क्याप्टेन शर्माको भनाइ छ ।
दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ
सन् २०२४ मा विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या सकारात्मक बढोत्तरी भइरहेको छ । निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाव बढेको छ । हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समगमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद् वर्ष साबित भएको बताउछन् ।
“विश्वव्यापीरुपमा ठूला ठूला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन । दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ”, उनले भने ।

सन् २०२४ को अन्तिम महिनाका केही हवाई दुर्घटनाले हवाई क्षेत्रमा संशय पैदा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमले बताएका छन् । समग्रमा सन् २०२४ लाई बिदाई गर्दैगर्दा एभिएसनले नराम्रो क्षति बेहोर्न पुगेको उनले उल्लेख गरे ।
“एभिएसनमा नेपालको सन्दर्भमा राम्रो रहेपनि विश्वव्यापी रुपमा हेर्दा दुःखद् वर्षको रुपमा रह्यो”, पूर्वमहानिर्देशक गौतमले भने, “दुर्घटनाबाट पाठ सिकेर हवाई सुरक्षालाई कसरी बलियो बनाउनेभन्नेतर्फ राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले सन् २०३० सम्म मानवजन्य मृत्यु हुने दुर्घटना शून्यमा झार्ने लक्ष्य लिएको छ । अहिले वार्षिक १० प्रतिशत हवाई यात्रु बृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घको तथ्याङ्कलाई उधृत गर्दै पूर्वमहानिर्देशक गौतमले विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या झण्डै पाँच अर्ब पुगेको बताउनुभयो । सन् २०१९ मा चार अर्ब ५० करोड हवाई यात्रु पुगेका थिए ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई यात्रु बढेका हिसावले सकारात्मक लिन सकिए पनि सन् २०२४ मा भएका केही हवाई दुर्घटनाले एभिएसन क्षेत्रलाई खिन्न बनाएको बताए । “नेपालको सन्दर्भमा सन् २०२३ को तुलनामा सन् २०२४ दुर्घटनाको सङ्ख्याको हिसावले सुधारात्मक रहे पनि विश्वव्यापी रुपमा हेर्दा वर्षको अन्तिम महिनामा धेरै सङ्ख्यामा भएका विमान दुर्घटनाले एभिएसन क्षेत्रलाई झस्क्काएको छ”, उनले भने ।
उडान सुरक्षा र यात्रु बढोत्तरीका हिसाबले सुधार हुँदै गएको सूचना अधिकारी भूलको भनाइ छ । नेपालमा पनि हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तराष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कुल ८७ लाख ६० हजार तीन सय दुई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४४ लाख ४९ हजार एक सय ३३ पुगेको थियो ।
प्राधिकरणका अनुसार नेपालमा हालसम्म एक सय आठ हवाई दुर्घटनामा नौ सय ५९ जनाको मृत्यु भएको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाकिस्तानमा भएका दुई ठूला विमान दुर्घटनाले समग्रमा हवाई उड्डयनको क्षेत्रलाई निरास बनाएको छ । यो घटनाले विश्वव्यापी रुपमै हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्न तेर्सिएको छ । यसरी सन् २०२४ मा ठूला विमान दुर्घटनामा चार सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटना खराब मौसम र मानवीय कमजोरीले हुने गरेको विज्ञहरु बताउँछन् ।
सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हँुदा एक सय ७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।








प्रतिक्रिया