२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कालीमाटी स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: काठमाडौं प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



१८ पुस । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिनामा प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले बिहीबार जिल्ला सरकारी वकिल, कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको हो ।

परिसरको मुद्दा फाँटका डीएसपी हरि खतिवडाका अनुसार एक अर्ब १८ करोड हिनामिना भएको भन्दै ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ । पछि थप खुलेमा पुरक अभियोजन लैजानेगरी प्रतिवेदन बुझाइएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रहरी स्रोतका अनुसार रवि लामिछानेलाई समेत प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालयका अनुसार आइतबार मुद्दा दायर हुने सम्भवना छ ।

बचतकर्ताहरूले एक अर्ब १८ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिएका छन् । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको ठगीमा ४४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । जसमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसमेत छन् । हाल कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौँमा पनि मुद्दा दायर हुन लागेको हो ।

स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा गैरकानुनी रूपमा पैसा गएको थियो । सो पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ । काठमाडौँमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरसमेत लगाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १० : ५२ बजे