२० पुस । ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भइसकेको छ । यस वर्षलाई लक्षित गर्दै नयाँ चलचित्रले प्रदर्शन घोषणा गरिसकेका छन् । यद्यपि गएको वर्ष सन् २०२४ मा कलात्मकलाई ध्यान राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भए ।
सन् २०२४ मा ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘द रेड सुटकेस’ लगायत केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो । चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले व्यावसायिक रूपमा भने असफल रहे ।
गत वर्षको सफल चलचित्रको सूचीमा ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ व्यावसायिक रूपमा सफल भएका थिए । उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कोरोना महामारी पश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो ।
विश्वभरका चलचित्र हेरेर भिन्न–भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उनले बताए ।
“विश्वका चलचित्र महोत्सवमा पुगेका चलचित्रमा दर्शकको आकर्षण नदेखिनुले उहाँहरू चलचित्र भवनमा विशुद्ध मनोरञ्जन लिन पुग्नुहुन्छ भन्ने स्पष्ट सङ्केत गरेको छ । शृङखलाबद्ध र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो”, लेखक तिमल्सेनाले भने “निर्माता र निर्देशकले एकै किसिमका चलचित्र भने दिनु हुँदैन । केही फरक गरिरहनु पर्छ । नत्र विस्तारै चलचित्रप्रति आकर्षण घट्न सक्छ ।”
निर्देशक अनिल योञ्जनले दर्शकले रुचाउनुभएका चलचित्रअनुसार विविधता दिनुपर्ने बताए । उनले भने, “म अहिले कलात्मक चलचित्रलाई व्यावसायिक रुपमा तयार गर्नुपर्ने विचारसँग सहमत छु । किनकि दर्शकले चाहेको विधामा विविधता पस्किन सक्नुपर्छ ।”
पछिल्लो समय कलात्मक भनिएका चलचित्रमा व्यावसायिक रुपमा परिचत कलाकारलाई राखिएको छ । अभिनयमा पारङ्गतसँगै व्यावसायिक रुपमा चिनिने अनुहार भएता पनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको चलचित्र निर्देशक पुर्णेन्दु झाले बताए ।
रासस
प्रतिक्रिया