२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सूर्यविनायक नगरपालिका बजेट कार्यान्वयन निराशाजनक, छ महिनामा १६ प्रतिशत मात्रै खर्च



भक्तपुर

सूर्यविनायक नगरपालिका बजेट कार्यान्वयन निराशाजनक देखिएको छ । यस नगरपालिकामा छ महिनामा १६ प्रतिशत मात्रै खर्च भएको छ ।

नगरसभामा मेयर एवं सभाअध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनाको अवधिमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च भएको बताएका छन । उनले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु एक अर्ब ४० करोड ३७ लाख २२ हजार पारित गरेकामा छ महिनामा नगरको कुल बजेटको रु ३५ करोड ८६ लाख ५० हजारमात्र खर्च भएको बताए । नगरपालिकाको चालु खर्चतर्फ रु २३ करोड ४१ लाख ९१ हजार र पुँजीगततर्फ रु १२ करोड ४४ लाख ५९ हजार खर्च भएको उनले बताएका छन् ।

मेयर थापाले चालु आवको दुई महिना वर्षालगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रूपमा बजेट खर्च हुन नसकेको बताउँदै चालु आवको बाँकी छ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताए । उनले बाँकी छ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आवको अन्त्यसम्ममा ९० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै नगरपालिकाले लक्ष्य हासिल गर्ने बताए । नगरपालिकले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।

यसैगरी, नगरपालिकाले चालु आवको छ महिनामा रु ११ करोड ८८ लाख पाँच हजार सात सय तीन राजस्व सङ्कलन गरेको नगर अधिवेशनमा उपमेयर सरिता तिम्सिना भट्टराईले बताइन् । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ६० प्रतिशत रकम बढी राजस्व सङ्कलन गरेको बताए ।

गत आवको छ महिनामा नगरपालिकाले रु ११ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको उल्लेख गर्दै उनले नगरपालिकाले चालु आवमा रु ४३ करोड ६० लाख सात हजार पाँच सय राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको बताइन् । उपमेयर भट्टराईले चालु आव २०८१÷८२ मा नगरसभाबाट स्वीकृत तीन सय तीन, नगर कार्यपालिकाबाट स्वीकृत ३५, सङ्घ–प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा तीन सय ९० योजना रहेकामा हालसम्म एक सय २० योजना सम्झौता भई योजना अनुगमन गरी ३४ योजना फरफारक गरिएको बताएकी छिन् ।

सूर्यविनायक नगरपालिकाको नगरसभाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । मेयर वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न नगर अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल गरी विधेयक पारित गरेको हो ।

नगरसभाका सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गरेको नगरपालिकाको संस्था दर्ता (प्रथम संशोधन) विधेयक २०८१, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको हो ।

नगरसभामा विधायन समितिका संयोजक प्रदीप कार्कीले आचारसंहिता वाचन, नगरपालिकाको विधायन समितिको प्रतिवेदन, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१ पेश गरेका थिए । नगरउपप्रमुख एवं राजस्व परार्श समिति संयोजक एवं न्यायिक समिति संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाको न्यायिक समितिको र नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण तिवेदन सभामा प्रस्तुत गरेका थिए ।

सभामा विभिन्न समितिका संयोजकमध्ये राजकुमार जोशीले सार्वजनिक लेखा समितिको प्रतिवेदन, रवीन्द्र सापकोटाले संस्था दर्ता प्रथम संशोधन विधयक २०८१ र सामाजिक विकास समितिको प्रतिवेदन पेश गरेका थिए । संयोजक पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, शिवराम राउतले पूर्वाधार विकास समितिको प्रतिवेदन, भगवाण खत्रीले वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन र सानुकाजी कायस्थले सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन र सार्वजनिक सम्पत्तिको विवरण सभामा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : ३८ बजे