२१ पुस । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस १८ गते स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन तयार पारेको थियो तर सरकारी वकिल कार्यालयले ३९ जनालाई मात्र प्रतिवेदन बनाएको हो ।
उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड ३४ लाख बिगो माग दाबी गरिएको छ । हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सिताराम अर्यालले बताए ।
प्रतिवादी कायम गरिएका मध्ये रवि र पूर्व डीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन् ।
काठमाडौँमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन । यसअघि जिल्ला सरकारी वकिल कार्यालय कास्कीबाटै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भइसकेकाले दोहोरो मुद्दा पर्ने भएकाले यहाँबाट सहकारी ठगी र संगठित अपराधको कसुरमा मात्रै मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयको अभियोगमा उल्लेख छ ।
अनुसन्धानका क्रममा जीबी राईको हर्बो इन्टरनेसनल प्रालि मा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ अपचलन भएको छ । त्यस्तै, जीबी ग्रुप अफ कम्पनी प्रालि, कुमकुम हर्बल इन्डस्ट्रिज र देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्म जस्ता कम्पनीहरूमार्फत ठूलो मात्रामा रकम हिनामिना भएको बताइएको छ ।
प्रतिक्रिया