सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ
काठमाडौँ
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिएका छन् । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उनले भने ।
यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताएका छन् । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”
नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिएका छन् ।
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया