१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पनौतीमा बाढीपहिरो प्रभावित खोलाको जग्गा यकिन गरिँदै



आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने
काभ्रेपलाञ्चोक 
गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्तरुपमा उक्त कार्य सुरु गरेका हुन् ।
बाढीपहिरोबाट भएको क्षतिको मुल्याङ्कनसँगै सबे किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । सो क्षेत्रमा हाल खोला र जग्गाको कित्ताको पुनःस्थापना शुरु गरिएको नगरले जनाएको छ । नगरप्रमुख रामशरण भण्डारीले व्यक्तिले भागचलन गर्दै आएका जमिनको अवस्थासमेत नहुनेगरी बाढीपहिरोले तहसनहस पारेपछि जमिनको साविक अवस्था पत्ता लगाई एकीन गर्ने कार्यको थालनी गरिएको बताएका छन् । “व्यक्तिले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएपछि जग्गाको अवस्था एकीनको विकल्प देखिएन”, उनले भने । उनका अनुसार आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइनेछ ।
पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजिपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताएका छन् । उनका अनुसार टोलीले डिजिपिएसका प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ । उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने जनाइएको छ ।
पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५ सय ८६ घर पूर्ण तथा ९ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।