२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खेल’को पोस्टरमा रहस्य र थ्रिलर



अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु

काठमाडौं
अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’मा रहस्य रथ्रिलरले भरिएको पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरसँगै चलचित्र चलचित्र २०८२ सालको वैशाख १२ गत प्रर्दशन हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको मुख्य अभिनय छ ।

यस चलचित्रलाई बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह निर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका छन् । यसमा भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय रहेको छ ।

रोयल भीमसेनले डिजाइन गरेको ‘खेल’को पोस्टरमा रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ । अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्त्वलाई सङ्केत गर्दछ । पोस्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय तारा र अन्धकार वातावरणले चलचित्र रहस्य, डर, वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ ।

नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोडिएको कथा रहेको यो चलचित्रमा चार जना साथीहरूको कथा रहेको छ, जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।

अभिनेत्री सुरक्षा पन्तले गुणस्तरीय चलचित्रमा काम गर्न पाउँदा खुसी रहेको बतााइन् । उनले चलचित्रको कथाबारे भनिन्, “अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु ।”

निर्माता लुइसराज महर्जनले विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो चलचित्र तयार गरिएको बताए । यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको उनले जनाए ।

सिरुपाते कट्स प्रालिले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन भने सह निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन् ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ५४ बजे