२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूकम्पबाट सुरक्षित रहन पूर्वतयारी गर्नुपर्नेमा विज्ञहरु एक मत



भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण र नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने

काठमाडौँ
भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारीमा जुट्नुपर्नेमा विज्ञहरु एक मत भएका छन् ।
भूकम्प सुरक्षा दिवसको पुर्वसन्ध्यामा राजधानीमा आयोजित कार्यक्रममा भूकम्पबाट हुने जनधनको क्षति कम गर्न प्रचारप्रसार र पूर्वतयारीको कार्यक्रमले प्राथमिकता पाउनुपर्ने सरोकारवालाहरूले बताएका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण र नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । भने,‘ यो नै हाम्रो सशक्त पूर्वतयारी हो’ । भूकम्पको सम्भावित जोखिमलाई आकलन गरी प्रभावकारी र दू्रत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवं तत्काल राहत वितरणका लागि तयारी अवस्थामा रहनु उत्तिकै जरूरी रहेको उनको भनाई छ ।

 

विपद् संवेदनशील संस्कृतिको विकास गर्न जरूरी रहेकामा जोड

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा रमेश गुरागाईंले नयाँ बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेकामा जोड दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विपद् संवेदनशील संस्कृतिको विकास गर्न जरूरी रहेकामा जोड दिएका छन् ।
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ । दिवसका अवसरमा कीर्तिपुर नगरपालिकास्थित बिपी कोइराला मेमोरियल विज्ञान सङ्ग्रहालय परिसरमा मूल समारोहको कार्यक्रम आयोजना हुने त्यस अवसरमा जानकारी दिइयो ।
विभागका अनुसार दिवसका उपलक्ष्यमा मूल समारोह समितिले आयोजना गर्ने कार्यक्रमबाहेक विभिन्न निकायको सक्रियतामा प्रदेश तथा स्थानीय तहलगायत विभिन्न निकायले गोष्ठी, छलफल, ¥याली, अन्तरक्रिया प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटकलगायत विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् ।
विसं १९९० गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : २४ बजे