काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप भएको छ । अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो । तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको थियो ।
पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुव्र्यवहार गरेको भन्दै उजुरी दिएपछि तामाङमाथि अनुसन्धान सुरु भएको थियो । उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङले कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुव्र्यवहार र धकेलाधकेल गरेको आरोपसमेत छ । उक्त घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो ।
प्रहरी वृत्त स्वयम्भूले तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको थियो । तामाङले सामाजिक अभियन्ताको रूपमा विभिन्न विषयमा सक्रियता देखाउँदै फेसबुक लगायतका प्लेटफर्महरूमा भिडिओ पोस्ट गर्दै आएकी छिन् ।
प्रतिक्रिया