२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मैले बोकेको थोत्रे गाग्री संग्रहालयमा राख्नुः हर्क साम्पाङ



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले आफूले धरानबाट काठमाडौं ल्याएको पुरानो गाग्री संग्रहालयमा राख्न आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै साम्पाङले उक्त आग्रह गरेका हुन्।

गाग्रीले करोडौं नेपालीले बोल्न नसकेको बोली बोलेकाले संग्रहालयमा राख्न उनको अनुरोध छ। ‘करोडौं नेपालीले बोल्न नसकेको बोली बोल्ने त्यो महान् थोत्रे गाग्रीलाई सलाम छ। संग्रहालयमा राख्नु सम्हालेर त्यसलाई!,’ उनले लेखेका छन्।

साम्पाङ मंगलबार धरानका लागि खानेपानी आयोजनामा बजेट माग्दै थोत्रो गाग्री ल्याएर काठमाडौं पुगेका थिए। त्यहीँ गाग्री लगेर खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न सिंहदरबार जाँदा सिंहदरबारको दक्षिण गेटबाट उक्त गाग्री प्रहरी खोसेर लगेको थियो। त्यसपछि गाग्री नलगेरै उनले मन्त्री यादवसँग भेटेका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न सकेका छैनन्। त्यसपछि उनले प्रधानमन्त्री ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका थिए।

मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका थिए। त्यसक्रममा उनले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उक्त आरोप लगाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।