१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतको महाराष्ट्रमा रेलले किच्दा मृत्यु भएका १३ जनामध्ये तीन नेपाली



काठमाडौं । भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा तीन नेपालीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सो दुर्घटनामा नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो। तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन।

बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो। यहीबीच रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फाले। जति बेला अर्को रेल कर्नाटक एक्सप्रेस त्यही ट्र्याक भएर आउँदै थियो, जसले किच्दा उल्लिखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यीमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको छ। जसमा तीन नेपालीबाहेक अन्य ४ जनामा ज्वाकला भाटे (उमेर ५०), नसिरुद्दिन बद्रुद्दीन सिद्दीकी (उमेर लगभग २० वर्ष, गोंडा निवासी), इन्तेजाज अली (उमेर ३५ वर्ष, गुलरिहा उत्तर प्रदेश निवासी) र बाबु खान (लगभग ३० वर्ष) छन्।

अब ४ पुरुष र २ महिला मृतकको पहिचान खुल्न बाँकी छ। १० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।