११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चिया बेचेरै मासिक ५० हजार आम्दानी



वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन

बेलबारी (मोरङ)
मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन् ।

चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा रू ५० हजार आम्दानी हुन्छ । पच्चीस वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर रू १३ मा किनेको दूध हाल रू ८० पर्छ, महँगी धेरै बढ्यो ।

 

त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, रू दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ

स्वामकुमारीले भनिन्, “त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्योे, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो ।” त्यसबेला लोकल चिया प्रतिकप रू दुई र स्पेसल रू तीन थियो । छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाईले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउछन् ।

कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने होभने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताएकी छिन्
। “त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, रू दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ”, उनी बताउछिन् ।

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउछन् । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउछन् ।

स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसके । उहाँ आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउछन् । “वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशी बताउछन् । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी पर्यो राजवंशी बताउछन् ।

 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : १६ बजे