१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इखा पोखरी पुनःनिर्माण सुरु, उपप्रमुख डंगोलद्वारा शिलान्यास



काठमाडौं । ऐतिहासिक इखा पोखरी पुनःनिर्माण कार्यको आज (सोमबार) शिलान्यास भएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले एक समारोहबीच पुनःनिर्माण कार्यको शिलान्यास गरेकी छन् ।
सहरी विकासको क्रममा जल प्रणालीको उचित व्यवस्थापन नहुँदा सुक्दै गएका पोखरीहरुमध्ये एक इखा पोखरी पुनःनिर्माण हुन लागेको हो । सुकेका पोखरीहरु पुरिने र त्यसमाथि भौतिक संरचना बन्ने क्रम बढिरहेको बेला इखा पोखरी पुनःनिर्माणले भने आशा जगाएको छ ।

पुनःनिर्माण कार्यको कुल लागत ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । करिब साढे ७ रोपनी क्षेत्रफलमा फैलिएको यस पोखरीमा करिब ६ रोपनी क्षेत्रफलमा पानी भरिने छ । पानीको भाग बाहिर वरिपरि २ मिटरको पैदल मार्ग निर्माण गरिने योजना छ । यसका साथै, आकाशे पानी संकलन गर्ने प्रणाली पनि निर्माण गरिने बताइएको छ ।

सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको निर्माण कम्पनीसँग माघ ११ गते सम्झौता भएको थियो । शिलान्यास समारोहमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनःस्थापनालाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताइन्। उनले पोखरी पुनःनिर्माणपछि यससँग जोडिएका सांस्कृतिक तथा सामाजिक पक्षलाई पनि जोड्दै लैजाने प्रतिवद्धता जनाइन् ।

“जल सम्पदासँग अमूर्त सम्पदाहरुको निकट सम्बन्ध रहेको छ,“ उपप्रमुख डंगोलले भनिन्, “त्यसैले पोखरीसँग सम्बन्धित अमूर्त सम्पदाहरुको अभिलेखन गरिने छ ।“ इखा पोखरी पुनःनिर्माणले पानीको स्रोत संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसले वातावरण संरक्षण र सांस्कृतिक सम्पदाको जगेर्नामा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ०६ बजे