काठमाडौं । दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब ८ घण्टामात्रै बन्द हुने भएको छ ।
पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल अब शनिबारदेखि ८ घण्टामात्र बन्द हुने भएको हो ।
‘त्रिभुवन विमानस्थलमा निर्माणका कामको गति बढिरहेका कारण यात्रु सहजताका लागि उडान समय बढाइएको हो, ‘त्रिभुवन विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘अब काम पनि भइरहन्छ र उडान समय अवधि पनि अझै बढ्दै जान्छ।’
अहिले त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ। अब शनिबारदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।
हाल नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ ।
प्रतिक्रिया