५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


अभिनेत्री कोइराला एचपिभी खोप अभियानको सद्भावनादूत घोषणा



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले आज यहाँ एक कार्यक्रम आयोजना गरी उनलाई सद्भावनादूत घोषणा गरेको हो ।

कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गरिन् । खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उनले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गरिन् ।

संघीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदैछ ।

एचपिभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ ।

मन्त्रालयले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका) दिन खोप अभियानको सुरुआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चार जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पुर्‍याउन सरकारले सन् २०३० सम्म तीन वटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको जानकारी दिए। जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपिभी खोप दिइने र ३० वर्षभन्दा माथिको उमेर समूहका कम्तीमा ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने उनले उल्लेख गरे । उनका अनुसार पाठेघरको मुखको क्यान्सर पहिचान भएका कम्तीमा ९० प्रतिशत महिलाको उपचार गरिने छ ।

यो वर्ष देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिँदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ ।

 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।