काठमाडौं
शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ’एक्टरः टेक वन’ शनिवार देशभर करिब ३ सय ३० वटा पर्दाहरूमा चलचित्र प्रदर्शन भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
वितरण कम्पनी डीसीएनलाई उदृत गर्दै निर्माण पक्षका अनुसार देशभर चलचित्रले उच्च शो पाएको हो ।
तर चलचित्रप्रति दर्शकको आर्कषण भने देखिदैन । धेरै हलमा दर्शक ज्यादै कम देखिन्छन् । कतिपय हलमा एक दुई जनाले मात्रै टिकट बुकिङ गरेका छन् भने केही हल खाली देखिन्छ ।
यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्साइरहेको निमार्ण पक्षको दाबी छ । शनिवार दिउसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स चलचित्र हलमा पुग्दा दर्शकले ’एक्टरः टेक टु’को माग गरे ।
चलचित्रको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ’वि वान्ट टेक टु’को नारा लगाएका थिए । दर्शकबाट टेक टु को माग हुँदा कलाकारहरू उत्साहित हुँदै सेल्फी खिचे ।
चलचित्र हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन् । प्रदिप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यु अभिनयको तारिफ भएको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई रुचाइएको छ भने निर्देशकको व्यापक तारिफ भइरहेको छ ।
यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती चलचित्रको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।







प्रतिक्रिया