काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रै महिना काठमाण्डुमा आपूर्ति गर्नका लागि थप गृहकार्य भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भए पनि आगामी वर्षदेखि बन्द नगरी काठमाण्डु उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताए ।
उनले भने, ‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन ।’
मन्त्री यादवले मेलम्चीको पानी पथान्तरण रोकिने समयमा बागमती नदीबाट वर्षातको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याई आपूर्ति बढाउन अन्तरमन्त्रालय समन्वय तथा आवश्यक पहलकदमी भइरहेको समेत जानकारी दिए ।
मन्त्री यादवले यांग्री र लार्केको पानी पथान्तरण हुनुअगावै पूर्वाधार तयार गर्ने क्रममा सुन्दरीजलमा २५ दशमलव ५ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गर्न टेण्डर आह्वान भइसकेको बताए ।
उनले भने, ‘हाल सञ्चालनमा रहेको १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको क्षमता वृद्धि गरी २५ दशमलव ५ करोड लिटर पुर्याइने लक्ष्य छ । यसका लागि एसियाली विकास बैंकसँग ऋण सम्झौता सम्पन्न भई काम अघि बढाइएको छ ।’
भक्तपुरको महादेव खोलामा जलाशययुक्त खानेपानी परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने कार्य अघि बढाइएको समेत मन्त्री यादवले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आफूलाई जनताको सेवामा पूर्ण रूपले समर्पित गर्नुपर्ने बताए ।
ग्राहकमैत्री सेवाले समर्पित भई सुशासनयुक्त एवं झन्झटरहित केयूकेएलका रूपमा आफूलाई स्थापित गर्न कम्पनीका हरेक तह र तप्काका कर्मचारीहरूले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवले बताए ।
उनले भने, ‘अब केयूकेएलले समयानुकूल महशुल पुनरावलोकन गरी वित्तीय रूपमा सक्षम संस्थाको रूपमा रूपान्तरण गरि स्थापित गर्नुपर्ने देखिन्छ । सोही अनुसार अगाडि बढ्नुपर्नेछ ।’
वर्तमान अवस्थामा खानेपानी चुहावट नियन्त्रण कार्य र खानेपानीको न्यायोचित वितरण प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने टड्कारो आवश्यकता देखिएको मन्त्री यादवले बताए । ‘मेलम्चीको पानी पथान्तरण कार्य दशैंअघि नै सम्पन्न गर्न मिलेको सफलताले विपद्बाट आक्रान्त काठमाण्डु उपत्यकावासीलाई ठूलो राहत मिलेको छ । खानेपानी चुहावट नियन्त्रण गर्न प्रमुख आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले सिस्नेरी परियोजनालाई अघि बढाउनका लागि अग्रसरता लिइएको र मेलम्चीको पानी पथान्तरण रोकिने समयमा बागमती नदीबाट बर्षातको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याई आपूर्ति बढाउन अन्तरमन्त्रालय समन्वय तथा आवश्यक पहलकदमी भइरहेको जानकारी गराए ।







प्रतिक्रिया