चापागाँउ/ललितपुर
‘यौन’ : समाजमा लुकाइएको एउटा विषयमा चलचित्र बनाइएको छ दुःखी आत्मा । जुन चलचित्र शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ । समाजभित्र खुलेर कुराकानी समेत नहुने विषयबस्तुमा निर्देशक दिपेन्द्र लामाले चलचित्र बनाएका छन् । अभिनेता दयाहाङ राई, आँचल शर्मा, दिया मास्के, अनुपविक्रम शाही, बुद्धि तामाङजस्ता कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
सबल पक्ष
केही दशकअघिसम्म चलचित्र महिलाको भूमिका गर्ने कलाकार नै पाइदैन थिए । एउटा महिलाको अनुहार मिल्ने पुरुष कलाकारलाई श्रृगार गरेर महिला बनाइन्थ्यो अनि महिलाकै जस्तो स्वर बनाएर चलचित्रमा अभिनय गरेको दर्शकले हेरिदिनु पथ्र्यो । सुखद नै मान्नुपर्छ आज यौनको विषयमा बनेको चलचित्रमा एउटा खुला दृश्य र संवाद बोल्ने महिला पात्र अनामिकाको भूमिका अभिनेत्री आँचल शर्माले निभाएकी छिन् । यो चुनौतीपूर्ण भूमिकामा अभिनय गर्ने आँट गरेकी उनलाई सलाम भन्नैपर्छ ।
निर्देशक दिपेन्द्र लामाले पनि चुनौतीपूर्ण कथाबस्तुलाई चलचित्रमा पस्कने आँट गरेका छन् । यौनको विषयबस्तुलाई चलचित्रको पर्दामा देखाउन ढंग नपुगे अश्लिल हर्कट हुने खतरालाई उनले चुनौतीको रुपमा स्वीकार गरेर कलात्मक रुपमा पस्कने अवसरमा बदलेका छन् ।

चलचित्रको कथा सलल बगेको छ । लेखकले हरेक पात्रलाई सशक्त चरित्र निर्माण गरेर उभ्याइदिएका छन् । एउटा गम्भिर यौन समस्यालाई सरल तरिकाबाट हँसाउदै चलचित्रको पर्दामा उतारिएको छ ।
चलचित्रमा चरित्र निर्माण गर्न दिपेन्द्रले सौदान्तिक दर्शनलाई पनि मिसाएका छन् । प्रायः कलाकारहरु आफ्नै श्रृजना र मूल्य र मान्यताको आधारमा बाँच्छन् भन्ने तथ्य चलचित्रमा देखाउन खोजिएको छ । कविको मनोभावलाई चलचित्रमा दुरुस्तै उतारेका छन् । ‘मेरो मालिक म आफै हो’, ‘कफि सामन्ती संस्कृतीको परिचायक हो’जस्ता संवादले चरित्र निर्खान सहयोग गरेको छ ।
चलचित्रभर कविता सुन्न पाइन्छ । कविता मन पर्ने दर्शकलाई चलचित्र राम्रो लाग्छ नै । मनै नपर्नेहरुलाई समेत कविको हर्कत र चरित्र निर्माणमा सहयोग नै गरेको छ । एउटा कविको पागलपन चलचित्रमा देखाइएको छ ।
चलचित्रले साहित्य क्षेत्रको विकृति र विसंगतीलाई पनि चोटिलो ढंगले चिरफार गर्ने प्रयास गरेको छ । भूईमान्छेको पक्षमा चलचित्र बोलेको छ । समाजका खराव पात्रहरुलाई नांगेझार पार्न चलचित्र सफल छ ।
दुर्बल पक्ष
सुखद नै मान्नुपर्छ चलचित्र हेरिरहँदा चलचित्रभित्र दुर्बल पक्ष भेट्न मुस्किल पर्छ ।
चलचित्रमा परिजात, भूपि शेरचन, इन्द्र बहादुर राईजस्ता दिग्गज कविहरुलाई जातीय पक्षमा उतारिएको छ भने आदिकवि, राष्ट्रकवि, महाकवि र आँशुकविजस्ता उपादीहरु आफ्ना वर्गले नपाएको तर्क चलचित्रमा सुन्न पाइन्छ । संवादमा कविको क्षमताको विकासका लागि हुटहुटीको अर्थमा नभई चलचित्रले बर्गीय र जातीय विभाजनको रेखा कोर्न खोजेको संकेत भेटिन्छ । आम दर्शकका लागि बनाइएको चलचित्रमा यस्ता संवाद राख्दा कतिपय दर्शकलाई चिमोटेको अनभव हुन्छ ।
‘छिट्टो विहे गरेर चार पाँच बटा बच्चा जन्माइहाल नत्र जनजाती अलपत्रमा परिन्छ,साथी’जस्ता संवादले चलचित्रले जातीय पक्षधरता लिएको छ । यसो गर्नु ठीक हो त ?

चलचित्रभर यौनजन्य समाग्रीलाई देखाइएको छ । धेरै ठाँउमा ती दृश्य हेरेर लाज लाग्छ । चलचित्र परिवारका सदस्यहरुसँग बसेर हेर्न सकिन्न । कतिपय दृश्यहरु निर्देशकले कलात्मक ढंगले देखाउन सक्ने प्रशस्त ठाँउ भए पनि ह्वाङै देखाई दिएका छन् । जुन आजको पुस्ताले अलि पचाउन गाह्रो मान्छ ।
चलचित्र हरेपछि ‘दुःखी आत्मा’ नाम किन भन्ने प्रश्न उठ्छ । यौनको कथामा बनेको चलचित्रको नाम ‘दुःखी आत्मा’ नै हुनुपर्ने कारण देखिन्न । एडल्ट चलचित्रको बिल्ला भिराएर सि ग्रेडको चलचित्रमा परिएला कि भन्ने त्रासले चलचित्रको नाम ‘दुःखी आत्मा’ राखिएको हुनपर्छ । चलचित्रको नाम ‘दुःखी आत्मा’सँग कथाको गोरु बेचेको साइनो समेत भेटिन्न ।
दयाहाङ राई (छेवाङ)

सधै जनजाती अनि धुलो मैलोसँग खेल्ने चरित्रमा देखिने अभिनेता दयाहाङ चलचित्रमा एक सुकिलो मुकिलो कविको भूमिकामा देखिएका छन् । कविको मनोभाव,सिदान्तबादी चरित्र र यौन दुर्बलता भएको पुरुषको चरित्रले दयाहाङले निभाउने छेवाङ पात्र बलियो छ । परिस्थितीजन्य यौन समस्या,कविको मनोदशा र पात्रहरुको जञ्जालमा परेको छेवाङको चरित्रलाई सरल ढंगबाट अघि बढाउन दयाहाङको प्रयास तारिफ योग्य छ ।

आँचल शर्मा (अनामिका)
समाजले सामान्य छलफल समेत गर्न नरुचाउने यौनको विषयमा चलचित्रमा अभिनय गर्ने आँट गरेकी अभिनेत्री आँचल शर्माको सहासलाई मान्ने पर्छ । आँचलले चलचित्रको पात्र अनामिकाको भूमिका मात्रै निभाएकी अर्थमा हेर्ने हो भने उनी सफल छिन् । चलचित्र हेरेपछि समाजभित्रै रहेका यस्ता थुप्रै अनामिका छन् भन्ने महसुस हुन्छ । जो पुरुषहरुसँग समय विताउन र उनीहरुको समस्यासँग एकाकार हुन तयार त हुन्छन् तर जीवनको लक्ष्य भने अर्कै छ । अभिनेत्री आँचलले साँच्चै एउटा फरक पात्र र कथासँग एकाकार भएर कला प्रस्तुत गर्ने भाग्यमानी कलाकार बनेकी छिन् ।
उस्तै अभिनय कला र प्रस्तुतीमा पर्दामा देखिएकी आँचलले अनामिकाको स्वभावजन्य चरित्रमा भने खरो उत्रेकी छिन् ।
अनुपविक्रम शाही (जग्गु)
सधै गुण्डा र अपराधिको भूमिकामा देखिने कलाकार अनुपविक्रिम शाही गज्जवको फरक भूमिकामा छन् । उनले यौ समस्या समाधानका गरेको हर्कत हेर्नलायक छ । छेवाङको मित्र ‘जग्गु’ पात्रलाई शाहीले न्याय गर्ने कोसिस गरेका छन् । उनको अभिनय सरल लागे पनि संवाद बोल्न अलि अप्ठ्यारो लागे झैं लाग्छ । सधैं ठूलो स्वरमा चिच्चाउने बानी परेकाले हुनसक्छ । उनले बोल्ने संवादमा थोरै अप्ठ्यारोपन भेटिन्छ ।

बुद्धि तामाङ (चन्द्र मोक्तान)
हुन त कलाकार बुद्धि तामाङ चलचित्रमा फरक चरित्र विकास गरेर भूमिका निभाइरहेका हुँदैनन् । तर लेखक तथा निर्देशक दिपेन्द्र लामाले बुद्धिले चन्द्र मोक्तानको निर्वाह गर्ने भूमिकामा शुष्म रुपमा चरित्र थपिदिएका छन् । चन्द्र मोक्तानको स्वभावजन्य चरित्रले चलचित्रलाई थप रोचक र घोचक बनाइदिएको छ । चलचित्र हेरिरहँदा एक फिट कलाकारको रुपमा कलाकार बुद्धि दरिएका छन् । तर चलचित्रमा बुद्धिको अभिनय शैलीमा कुनै फरक आएको पाइदैन । बाँकी अभिनय उन बुद्धि तामाङजस्तै लाग्छन् ।
चलचित्रमा कलाकारहरु दिया मास्के ‘रञ्जाना’ छोटो तर मिठो भूमिकामा छिन् । लोकेन्द्र लेखक, लुनिभा तुलाधर,पुस्कर गुरुङ र कविता आलेजस्ता कलाकार कथा अघि बढाउन सहयोगी बनेका छन् ।

प्रविधि
‘दुःखी आत्मा’ प्राविधिक रुपमा पनि बलियो देखिन्छ । चलचित्रका सिनेमेट्रोग्राफर आलोक शुक्लाले सुन्दर ढंगले क्यामेरा चलाएका छन् । चलचित्रमा प्रयोग गरिएको प्रकाश संयोजन उत्तम लाग्छ। यद्यपी ठाँउ ठाँउमा छाँया परेको दृश्यले भने मन अमिलो बनाउछ । जबीन जिसीले पात्रको चरित्र अनुसार भेषभुसाको प्रबन्ध गरेका छन् । निमेष श्रेष्ठको सम्पादनमा खोट लगाउने ठाँउ भेटिन्न । सुशान्त गौत्तमको पार्ससँगीतले चलचित्रलाई मिठो बनाएको छ । कुनाल कुँवरले दृश्यहरुको जतनका साथ रंग भरेका छन् । मनोज श्रेष्ठको भिएफएक्स प्रभावको अनुभव गर्ने ठाँउ चलचित्रमा भेटिदैन ।
अन्तमा,
यौनप्यासको तिर्खा मेटाउन अत्तारिएकी अनामिका र यौन समस्यासँग लडिरहेको छेवाङबीचको रोमञ्चक कथा हो दुःखी आत्मा । चलचित्रले हाम्रै वरपर लुगेको गम्भिर समस्यालाई नलुकाइकन भनिदिएको छ । अत्यावश्यकीय त्यो स्वास्थ्य समस्यालाई अचानक चलचित्रको पर्दामा लाज नमानी ल्याउदा कतिपयलाई अप्ठ्यारो पनि हुनसक्छ । तर आजको २१ औं शताव्दीका आधुनिक पुस्तालाई बुझाउन यो माध्यमलाई उपभोग गरेर सचेतना फैलाउन जरुरी छ ।
यौन सचेतनाका सन्दर्भमा नेपाल सरकारले अरबौंको बजेट खर्चेर गर्ने काम एउटै चलचित्रले गरेको छ । यौन समस्यालाई लुकाएर कुण्ठा बोकेर हिड्ने होइन, भरपर्दो साथीको सहयोग लिएर समाधान गर्नुपर्छ भन्ने सन्देशलाई चलचित्रको भाषामा मिठो गरेर भनिएको छ । यौन समस्याजस्तो गम्भिर विषयलाई सरल ढंगबाट हाँसो ठट्टा गर्दै चलचित्रमा उतारिएको छ ।







प्रतिक्रिया