२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सेन्सर बोर्डबाट पास भयो लाज शरणम्, फागुन १४ गते रिलिज हुने



काठमाडौं । चलचित्र ‘लाज शरणम्’ तोकिएकै समय अर्थात फागुन १४ गते नै रिलिजको बाटो खुलेको छ ।

केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट पास भएसँगै फिल्म तोकिएकै समयमा रिलिज हुन भएको हो । आज सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको छ ।

उच्च अदालत पाटनको आदेशसँगै चलचित्र ‘लाज शरणम्’ प्रदर्शन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । सेन्सर बोर्डले सेन्सर पास गरेसँगै अब यो चलचित्र पूर्वनिर्धारित मितिमै प्रदर्शनमा आउनेछ ।

सिताराम कट्टेल ‘धुर्मुस मुख्य भूमिकामा रहेको चलचित्रमा उनको ‘गेटअप’ मिलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको थियो ।

पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको तर्फबाट उनको अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर भएको थियो ।

केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्नसक्ने भन्दै आदेशमा त्यसअघि निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न आदेश जारी गरेको थियो ।

‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न/नगराउन अदालतले अन्तरिम आदेश दिएको थियो ।

‘लाज शरणम्’ले फागुन १४ गतेका लागि रिलिज डेट लिएको छ । बुधबार ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । तर, अदालतको आदेशसँगै रोकिएको थियो ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।