२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’ गोरखाबाट छायाङ्कन सुरू



काठमाडौँ
निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको नेपाली चलचित्र ‘पहाड’ को छायाङ्कन पुनःसुरू भएको छ ।
गत माघ २२ मा मुहुर्त गरेर एक दिन छायाङ्कन गरेपछि निर्देशक घिमिरेलाई ‘निमोनिया’ भएको थियो । स्वास्थ्य अनुकुल भएपछि पूर्वनिर्धारित तालिका अनुसार गोरखा र आसपासका क्षेत्रमा चलचित्रको छायाङ्कन सुरु गरेको निर्देशक घिमिरेले जानकारी दिएका छन् ।
निर्देशक घिमिरेले भने,“केही वर्षपछि चलचित्रको काममा फर्किएको छु, नयाँ पुस्ताका कलाकारसँग काम गर्दा छुटै ऊर्जा प्राप्त भइरहेको छ । यस चलचित्रमा मानव बस्ती शून्य बनेको उच्च पहाडको कथा समेटिएको छ ।”
उनले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु चलचित्रमा रहेको बताएका छन् । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् ।
भारतीय चलचित्र र टेलिशृङ्खलामा काम गरिसकेका छायाँकार प्रधानले ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ मा निर्देशक घिमिरेसँग सहकार्य गरिसकेका छन् ।
यसको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिएका छन् । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय रहने छ ।
यसै चलचित्रमार्फत निर्देशक घिमिरेको कान्छी छोरी पञ्चमी घिमिरेले चलचित्रमा अभिनयको सुरुआत गर्दै छन् । उनको जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको रुपमा काम गरिरहेका छन् । दुई छोरीले चलचित्रलाई पेसा बनाउदा आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए ।
“हामीलाई पनि आफ्नो सन्तानले आफूले गरिरहेको काम वा पेसालाई रोज्दा खुसी लाग्छ । एक छोरी अभिनेत्री बनेकी छिन् भने अर्को निर्देशनसहित प्राविधिक विधामा इच्छुक छिन् । यसकारण पनि म यो चलचित्रलाई लिएर उत्साहित छु ”निर्देशक घिमिरेले भनेका छन् ।
चलचित्र आगामी वर्षको जेठमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।