११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सशस्त्रकी इन्स्पेक्टर महत मृत्यु घटनाः आत्महत्या दुरुत्साहनको जाहेरी,डीआईजी सिंहको नेतृत्वमा छानबिन समिति



काठमाडौं । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी मतहको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

महतको परिवारले कास्की प्रहरीमा सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले जाहेरी आएको पुष्टि गरे । अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।

ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

यस्तै सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको स्रोतले जनाएको छ ।

शनिबार राती महत ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

उनको शव अहिले परिक्षणका लागि काठमाडौं ल्याइएको छ । सिन्धुपाल्चोककी महतका बाबु आमा हाल अष्ट्रेलियामा छन् । उनीहरु नेपाल आएपछि अन्त्येष्टि गरिने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।