नपत्याए म म्यासेज नै देखाउन सक्छु
चापागाँउ
काठमाडौंको किर्तीपुर डाँडामा रहेको एक चलचित्र भवनमा सोमबार साँझ ‘मायावी’को प्रिमियर राखिएको थियो । प्रिमियरस्थल फूलले सझाइएको थियो, धिमेबाजा बजाइएको थियो ।
प्रिमियरमा अभिनेत्री दिपिका प्रसाई, करिष्मा श्रेष्ठ, सुशील सिटौला,राजाराम पौडल, प्रशान्त ताम्रकारलगायत कलाकार सहभागी भए तर मुख्य भूमिकामा रहेका अभिनेता पल शाह सहभागी भएनन् ।

चलचित्रका मुख्य अभिनेता नै प्रिमियरमा सहभागी नहुँदा सहभागीले खल्लो महसुस गरेका थिए । चलचित्रको छायाँकनमा व्यस्त भएकाले प्रिमियरमा सहभागी हुन नसकेको निर्देशक दिवाकर भट्टराईले बताए । चलचित्रकी अभिनेत्रीले पल शाहले म्यासेज गरेर चलचित्रको प्रिमियरमा सहभागीहरुलाई धन्यवाद दिएको र आफू व्यस्त भएकाले प्रिमियरमा सहभागी हुन नसकेको जानकारी दिएको बताइन् । भनिन्, ‘नपत्याए म म्यासेज नै देखाउन सक्छु ।’
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा खासै व्यस्त नभएका अभिनेता शाह आफैले अभिनय गरेको चलचित्रको प्रिमियरमा सहभागी नभएको विषय चलचित्र बृत्तमा चियोचर्चो भएको छ । उनी प्रिमियरमा सहभागी हुन चाहेको खण्डमा मिलाउन सक्ने सम्भावना रहेको एक चलचित्रकर्मीले बताए ।
महानायक राजेश हमाल सहभागी
चलचित्र मायावीमा भूमिका नभएका महानयक प्रिमियरको पाहुनाको रुपमा सहभागी भएका छन् । उनी कार्यक्रमको अथितीको रुपमा स्टेजमा चढे । चलचित्रलाई शुभकामना दिए ।
महानायक हमालले पुरै समय चलचित्र भवनमा विताएका थिए भने सञ्चारकर्मी तथा पत्रकारहरुसँग लामो समय सवालजवाफमा सहभागी भए ।
चलचित्रको प्रिमियरमा पल शाहको खाँचो महानायक हमालले पुरा गरिदिएका थिए ।








प्रतिक्रिया