काठमाडौं
चलचित्र ‘लाज शरणम्’ को प्रर्दशनको केही दिनपछि चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ ।
चलचित्र ‘लाज शरणम्’ मा समेटिएको गीतमा कर्णालीको सुन्दरता अनि कष्टकर जनजीवन देख्न पाइन्छ ।
निर्माण पक्षले प्रर्दशनको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ ।
चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगीको अभिनय रहेको गीतमा कथावस्तु खुलासासँगै प्रेमभाव प्रकट गरेको छ ।
कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ ।
गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिने १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले दावी गरेको छ । चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ र यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको उनीहरुको भनाई छ ।








प्रतिक्रिया