२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘फेरि रेसम फिलिली’ : समाजका गम्भिर समस्या रमाइलो पारामा भन्ने चलचित्र



चापागाँउ
पछिल्लो नेपालीहरुको सपनाको देश अमेरिका । डिभि भरेर, घुमघामको बहाना बनाएर वा कामदार, कलाकार र पत्रकारको भिषामा धेरै नेपाली अमेरिका पुग्छन् । पिआर र भिषा पाएपछि उनीहरु त्यही बस्छन् ।
यस्तै अमेरिका जाने सपना बोकेको युवक विनय श्रेष्ठ(रेसम)को अभिनय हेर्न पछिल्लो बुधबारबाट चलचित्र फेरि रेसम फिलिली चलचित्रको प्रर्दशनी सुरु भएको छ ।
कथासार
विनय श्रेष्ठलाई डिभि परेको छ । ऊ अमेरिका जाने भएपछि डाहा लागेर सबै चिन्तित छन् । उसलाई रोक्न ठूलो जमात लागि परेको छ ।
अमेरिका जाने सपना पालेको युवकको बाटो छेक्नेहरुको कथा हो फेरि सेसम फिलिली । रेसमलाई अमेरिका जान रोकेर फिलिली बनाउनेहरुको हर्कत हेर्न चलचित्र भवनमा टिकट काटेर हेर्न सकिन्छ ।
२०७२ सालमा कतार जाने लफडामा जंगलमा हराएपछि रुमल्लिएको पात्र विनय श्रेष्ठ(रेसम) पछिल्लो सिक्वेल चलचित्र फेरि रेसम फिलिलीमा कामेश्वर चौरसिया(हरिया)सँगै देखिएका छन् ।
चलचित्रमा निर शाहले कथाबस्तुलाई गम्भिर बनाउन अभिनयमार्फत सघाएका छन् । मेक्सम गौडेल(हजमोला) र कामेश्वर चौरसिया(हरिया)ले ठाँउ ठाँउमा हँसाएका छन् । रमाइलो गरेका छन् ।
सवल पक्ष
चित्रणको दृष्टकोणले हेर्दा ‘फेरि रेसम फिलिली’ राम्रो छ । सबैजसो कलाकारहरु फरक फरक चरित्रलाई बोकेर हिडेका छन् । निर शाह(ज्वाला सिंह) (रिसाहा र कडा स्वभाव), मेक्सम गौडेल(हाजमोला) (कन्तखेदो गर्ने र डाढे), लक्ष्मी गिरी(छोरालाई मायाँ गर्ने स्वभाव), सुपुष्पा भट्ट(घमण्डी छोरी), कामेश्वर चौरसिया(मित्रता),विनय श्रेष्ठ(अमेरिका जाने अठोट),रविन्द्र झा(मालिकको भक्ती) प्रकाश घिमिरे( दुईजिब्रे चरित्र) र शिरिर वाङदेनको खल पात्रको चरित्रले चलचित्रलाई रोचक बनाएको छ ।
उनले चलचित्रको हरेक चरित्रमा गरेको कास्टिङ न्यायसंगत छ भन्ने लाग्छ । कहिलेकाही गलत कास्टिङले चलचित्र खल्लो बनाउछ । निर्देशक महर्जनले त्यसो हुन दिएका छैनन् ।


चलचित्रमा प्रेम धोका र बदलालाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ । समाजमा रहेका अल्पसंख्यकको समस्यालाई मिहिन ढंगबाट केलाइएको छ ।
फरक फरक सपना बोकेर भौतारिरहेका पात्रहरुहरुको मनोदशालाई चलचित्रमा समेटिएको छ ।
गीतहरुले निर्देशक महर्जनको कथा भन्नेशैलीलाई निखारेको छ । रोचक चरित्र भएका पात्रहरु,
र्दुवल पक्ष
ठाँउ ठाँउमा कथा सलल बगेको छैन । कथ्यशैली हतारमा अघि बढाएको भान हुन्छ । जसका कारण ठाँउ ठाँउमा दर्शक रनभुल्ल पर्ने खतरा छ ।
चलचित्रको दृश्यभाषामा विविधता छैन । चर्को संवादको बलमा कथा भन्न खोजिएको छ । गीत संगीत बाहेक क्यामेरा एंगल, प्राकृतिक आवाज(खोला, चराचुरुगीलगायत)को सहारा लिन सकिने सम्भावनालाई अनदेखा गरिएको छ ।
चलचित्रको पहिलो भागमा कथासार ढिलो अघि बढेको छ । दोश्रो भागमा दौडाइरहेको छ ।


पर्दामा अमेरिका जानेहरुको आर्कषण देखाएर नेपाली राष्ट्रवादलाई कमजोर बनाउन खोजेको जस्तो लाग्न सक्छ । यद्यपी चलचित्र अघि बढ्दै जाँदा घटनाक्रम रोचक मोडमा पुगेको छ ।

विनय श्रेष्ठ(रेसम)
अघिल्लो चलचित्र ‘रेसम फिलिली’कै चरित्र र अभिनयशैली पछ्याएका अभिनेता विजय श्रेष्ठको अभिनय थप खारिएको देख्न सकिन्छ । उनको चरित्र चित्रण क्षमता र अभिनयशैली मिठो लाग्छ । पछिल्लो पुस्ताले मन पराइरहेको हास्य विधा(कमेडी जनरा) मा उनी फिट छन् । उनको निर्दोष स्वरुप र बोलीबचनले मन तान्छ ।


सुपुष्पा भट्ट
धनी वावुकी घमण्डी छोरी चरित्रमा देखिएकी सुपुष्पा भट्टले औसत राम्रो अभिनय गरेको अनुभव हुन्छ । उनको शरिरको जीउडाल, पात्रको चरित्र, हाउभाउलाई सुपुष्पाले दुरुस्तै बोक्ने प्रयास गरेकी छिन् ।


मेक्सम गौडेल(हजमोला)
रियालिटी शो हुँदै ठूलो पर्दामा पहिलो पल्ट देखिएका कलाकार मेक्समको अभिनय तारिफ गर्न लायक नै छ । कथामा लेखिएको पात्रको चरित्रलाई उनले जुरुक्कै बोकेर दौडिएका छन् । चलचित्रभित्र ठाँउ ठाँउमा दर्शक हराएका छन् । कथालाई रोचक बनाउन उनको उपस्थितीले दर्शकलाई मनोरञ्जन दिएको छ ।


कामेश्वर चौरसिया(हरिया)
हाम्रै वरिपरि देखिने तराईको पात्र हरियालाई कलाकार कामेश्वर चौरसियाले दुरुस्तै देखाइदिएका छन् । उनको चटपटे चरित्रले चलचित्रको वजन बढाएको छ । स्टार बन्ने सपना बोकेको हरिया पात्रलाई चौरसियाले न्याय दिएका छन् । उनले रेसमलाई फिलिली बनाएका छन् ।
चलचित्रमा अभिनेता महोश त्रिपाठी(पुष्पा)को अभिनयशैली गज्जवको छ । उनले निभाएका अल्पसंख्यक पात्र पुष्पालाई न्याय गरेको आभास मिल्छ । थोरै बोल्ने, अपहेलित पात्र रहँदा दविएको महसुस गराउन उनको अभिनय सहयोगी बनेको छ ।
निर शाह(ज्वाला सिंह)को खलपात्रमा पुरानै पाराको अभिनय छ । उनले मधेस लवजलाई राम्रोसँग नबोलेको प्रष्ट सुनिन्छ ।


चलचित्रमा एकसेएक पात्रको अभिनय देख्न पाइन्छ । लक्ष्मी गिरीको कडा भिजासले पनि चलचित्रलाई रमाइलो बनाउन सहयोग गरेको छ । प्रकाश घिमिरेको पुरानो पाराले यस चलचित्रमा पनि निरन्तरता पाएको छ । शिरिर वाङदेनको खलनायक पात्र पनि उस्तै अभिनय गरेका छन् । अरु चलचित्र जस्तै । रविन्द्र झाको चरित्र र अभिनय पनि भिन्न छ । उनले ठाँउ ठाँउमा हँसाएका छन् ।
प्रविधि
सुसन प्रजापतिको छायाँकन सन्तोषजनक छ । यद्यपी चलचित्रमा धेरै वाइड एंगलको प्रयोग जरुरी थियो र? भन्ने लाग्न सक्छ । कसका कारण अनुहार सानो देखिएर यतार्थभन्दा फरक देखिएको छ । पटकथामा निर्देशक निरोज महर्जन तथा आकाश बरालले मेहनत गरेका छन् । कालीप्रसाद वाँसकोटालगायत संगीतकारले चलचित्रका गीत सुमधुर बनाएका छन् ।
सुप्रिय पराजुलीको रंग संयोजन ठिकै छ । सुजन परियार कलाकारहरुको चरित्र सुवाउने भेषभुसा तयार गरेका छन् भन माधव पाण्डेले उनीहरुलाई फिट बनाउन उस्तै श्रृगार गरिदिएका छन् । गीतसंगीतमा मिठास भेटिन्छ । चलचित्र हेरिरहँदा पार्शसंगीतले बिझाउदैन ।
अन्तमा,
चलचित्र ‘फेरि रेसम फिलिली’ ठूलो सपना बोकेर भौतारिरहेका नेपाली युवाको कथा र व्यथा हो । चलचित्रमा पात्रहरुको आफ्नै संर्घष छ । निर्देशक निरोज महर्जनले समाजमा यत्रतत्र भेटिने पात्रहरुलाई टपक्क टिपेर चलचित्रमा राखेका छन् ।
समाजभित्रका गम्भिर समस्याहरुलाई एकै पटक रमाइलो ढंगबाट भन्न चलचित्र सक्षम छ ।
चलचित्र ‘फेरि रेसम फिलिली’लाई उत्कृष्ट चलचित्र छ भन्न नसकिएला । यद्यपी यो बर्ष निर्माण भएको एउटा ‘राम्रो’ चलचित्र चाही पक्कै हो । मनोरञ्जन बटुल्न चलचित्र हेर्दा हुन्छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।