काठमाडौं
एक दशक अघि अभिनेता राजेश हमालको एउटा डाइलक मात्रै राख्दा पनि चलचित्र चल्थ्यो । जब निश्चल बस्नेतको टिमले ‘लुट’ प्रदर्शनमा ल्यायो त्यसपछि राजेश,निखिलदेखि रेखा थापासम्मको चलचित्रलाई पञ्छायो ।
यतिबेला अभिनेता दयाहाङ राईको अवस्था पनि त्यस्तै देखा पर्न थालेको छ । दर्शकले फरक फरक स्वाद खोजिरहेको बेलामा दयाका पछिल्ला चलचित्रहरुले गतिलो व्यापार गर्न सकेका छैनन् ।
पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र ‘कार्साङ’,‘दुखी आत्मा’ले पनि उनलाई दुखै दियो । न चलचित्र चल्न सक्यो न दया चले । दुवै चलचित्र ढुस भएपछि उनको आसा र भरोसा अब ‘राजागंज’मा पुगेको छ ।
उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘राजागंज’ले पनि उसलाई उठाला भन्ने कुनै ग्यारेन्टी देखिदैन । किनभने यो चलचित्रमा अलिकति राजनीति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै व्यङ्ग्य बर्साएको छ । चलचित्रमा मधेस आन्दोलन र राजनीतिक विषयबस्तु भएका कारण विवाद हुनसक्ने सम्भावना पनि छ ।

चलचित्रवृत्तमा दायाहाङले पैसाको लोभमा जस्तो पनि चलचित्र खेल्न थालेको चर्चा छ । कतिपय चलचित्रमा उनी एक दुई ठाँउमा अनुहार देखाउन पनि पुगेका छन् । चलचित्रका जे पायो त्यही भूमिकामा अभिनय गरेर उनले आफ्नो महत्व त घटाइरहेका छैनन ? यो दयाहाङले विचार गर्नु पर्ने पक्ष पक्कै हो । उनलाई सार्वजनिक मञ्चहरुबाट सुझाव दिएको पनि सुनिन्छ । तर उनले टेरपुञ्छर नलगाएको भान हुन्छ ।
दया आफै निर्माता बनेको यो चलचित्र पनि चलेन भने अर्को चलचित्र ‘रिमै’को के हालत होला ? के अब दयालाई दर्शकले पत्याउनै छाडेका हुन् त? यसको जवाफ ‘राजागंज’नचली त कसरी भन्नु नि हैन र ? तर त्यतिन्जेलसम्म भने पर्खनैपर्छ ।








प्रतिक्रिया