फागु पूर्णिमाको अवसर पारेर आजदेखि नेपाली चलचित्र ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’को प्रर्दशन सुरु भएको छ ।
चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यस चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
’अञ्जिला’लाई देशभरमा हलहरूले उत्साहजनक शो प्रदान गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन् । चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो ।
निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरे । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एन्जिलाको सङ्घर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।
चलचित्र ‘आउटलः दफा २१९ विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको हो । चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको अभिनय छ ।
प्रतिक्रिया