काठमाडौं । भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका एक युवक १५ वर्षपछि भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन्। भक्तपुरको नरेफाँटमा १५ वर्षअघि रोशी गाउँपालिका–४ लेम्बाबेसी घर भएकाट्याक्सी चालक मेघ लामाको हत्या गरी भागेका काभ्रेको भुगदेउ महांकाल गाउँपालिका–७ घर भएका ३७ वर्षीय बावु लामा भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।
अभियुक्त बावु लामा भारतको चेन्नईस्थित एक होस्टलमा कुकको काम गर्दै लुकेर बसिरहेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर नेपाल ल्याइएको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
प्रहरीका अनुसार , २०६६ मंसिर २५ गते राति ठमेलबाट कोटेश्वर जान भन्दै चार जनाको समूहले मेघ लामाको बा.१ ज ९१४ नम्बरको ट्याक्सी बुक गरेको थियो। सानोबुवा नाता पर्ने विनोद लामा समेत ट्याक्सीमा भएकाले मेघले सहजै स्वीकारे। तर, नरेफाँट पुग्नेबित्तिकै घाँटी मफलरले कसेर हत्या गरियो। हत्यापछि चालकको २५ हजार रुपैयाँ लुटेर उनीहरू फरार भएका थिए।
हत्यामा संलग्न विनोद लामा र श्याम तामाङ केही समयमै पक्राउ परे। तर बाबु तामाङ र वीरमान सिंह भुलन फरार रहे। बाबु तामाङ चेन्नईमा परिवारसँग लुकेर बसेका थिए।
२०७८ भदौ ३ गते भक्तपुर अदालतले चारै अभियुक्तलाई २० वर्ष कैदको फैसला सुनाएको थियो। यसअघि फागुन ९ गते हत्यामा संलग्न वीरमान सिंह पक्राउ परिसकेका छन्।
हत्यामा संलग्न अर्का प्रतिवादी काभ्रेको महाभारत गाउँपालिका–३ घट्टे घर भएका ३७ वर्षीय वीरमान सिंह भुलन फागुन ८ मा पक्राउ परेका थिए । उनीहरु विरुद्ध भक्तपुर जिल्ला अदालतले २० वर्ष कैद सजाय हुने ठहर गरेको छ ।







प्रतिक्रिया