नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ले पछिल्लो समय सुखद व्यापार गरिरहेको छ । देशभर सार्वजनिक विदा रहेको कारण शनिबार अधिकाशं हलहरु हाउसफुल रहेको निर्माण पक्षले जाकारी दिएको छ ।
नेपाली चलचित्र ‘अञ्जिला’ले बिहीबार नै चर्चा सुरु भएको थियो भने शनिवारको बक्स अफिस कलेक्सन राम्रो हुने अवस्था देखिएको बताइएको छ ।
शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताएका छन् । उनका अनुसार शनिबार देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।
दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल छ । पछिल्लो समय टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन् ।
निर्माण पक्षले सार्वजनिक गरेको भिडियो फुटेजहरुको आधारमा चलचित्र हेर्ने दर्शकहरू भाव विह्वल रहेको देख्न सकिन्छ ।
निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिए । “चलचित्र निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइन । शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दङ्ग छु ।,” निर्देशक चाम्सले भने ।
चलचित्रमा खेलाडी एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया