काठमाडौं
ऊर्जामन्त्री दीपक खड्काले अब साँझको समय लोडसेडिङ हुने बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् ।
हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेकाले लोडसेडिङ हुने मन्त्री खड्काको भनाइ छ । ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७ सय मेगावाट मात्रै उत्पादन गरेको छ । २ हजार ८ सय मेगावाट विद्यु्त् निजीक्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८ सय २५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
यसअघि मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य गर्न सहयोग गरेकोमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भन्दा पनि भारतलाई धन्यवाद दिनुपर्ने बताएका थिए । उनले आजको बैठकमा पनि भारत र निजीक्षेत्रको भूमिकाका लागि धन्यवाद दिए ।








प्रतिक्रिया