ललितपुर
ललितपुर इमाडोलमा बुधबार राति एक युवकको हत्या भएको छ । घटना राति करिब पौने १ बजे इमाडोलस्थित शिव मन्दिरनजिक भएको हो ।
खुकुरी प्रहारबाट ३० वर्षीय रीपक खातीको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । हत्या आरोपमा प्रहरीले २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार, सुमन रसाइलीले आफ्नी बहिनीलाई जिस्क्याएको निहुँमा खातीमाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएका खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जना मूल रूपमा रामेछापका हुन् र हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४, इमाडोलमा बस्दै आएका थिए । उनीहरूबीच पहिल्यै चिनजान रहेको हुन सक्ने प्रहरीको आशंका छ ।
घटनाको खबर पाउनेबित्तिकै प्रहरीले अनुसन्धान सुरू गरेको थियो । केही समयमै आरोपित रसाइलीलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले जानकारी दिए । ‘घटनापछि तुरुन्तै खोजी अभियान थाल्यौं र हत्या आरोपितलाई नियन्त्रणमा लिन सफल भयौं,’ उनले भने ।
प्रहरीले अहिले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । मृतक खातीको शव परीक्षणका लागि पाटन अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया