ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको कर्मनाशा खोला किनार आफ्नो नाममा ल्याएर बेचबिखन गरेको खुलेको छ । कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
जग्गा सुरुमा ठेचो घर भएकी सुजिता खड्काको नाममा आएको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । खड्काले सो जग्गा पछि बेचबिखन गरेको भेटिएको छ ।
जग्गा किर्ते गरेको आरोपमा पक्राउ पर्नेमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन छन् । नेपालको एकमात्र उत्तर तर्फ बग्ने खोला कर्मनाशाको बगर व्यक्तिको नाममा लिनेहरू लाई १० दिनअघि पक्राउ गरेर ललितपुर प्रहरीले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गा थियो । भुमाफियाहरुले नापी कार्यालयर र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरेर ४ रोपनी ४ आना बनाए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सो मध्येबाट २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । सो त्यो ५ आना जग्गाको लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरेको पाइएको छ ।
प्रतिक्रिया