भनिन्छ, आत्महत्या र डिप्रेसनका विषयमा धेरै चर्चा गर्नु गम्भिर दुर्घटना निम्त्याउनु हो । सामान्यतयाः आत्महत्यालाई प्रबद्र्धन हुने गरि चलचित्र बनाइएको पाइदैन । आत्महत्यामा प्रयोग भएको डोरी तान्त्रिक उपचारमा प्रयोग हुने अनि त्यसका लागि करोडौंमा बिक्रि हुने विषयलाई केन्द्रमा राखेर चलचित्र डोरी निर्माण गरिएको छ ।
नेपाली मनोरञ्जन बजारमा हरेक शुक्रबार नयाँ नेपाली चलचित्र प्रर्दशन सुरु हुने परम्परा धन्दै चलचित्र ‘डोरी’ प्रर्दशनमा आएको छ ।
कथासार
वावुको ऋणको भारी बोकेको ‘लाले’ आत्महत्या गरेको डोरी खोज्ने चक्करमा भोगेको हण्डर नै डोरीको मुल कथा हो । आत्महत्यामा प्रयोग भएको डोरीको लुछाचुडीलाई चलचित्रको मुल विषय बनाइएको छ ।
कमजोरी
चलचित्रमा अनगिन्ती कमजोरी छन् । कमजोर कथामा निर्माण गरिएको यस चलचित्रले आत्महत्या दुरुत्साहन गरेको छ । तान्त्रिक विषयबस्तुलाई जोडेर हावादारी कथामा चलचित्र निर्माण गरेको छ । यस्ता विषयमा चलचित्र बन्नु नै हास्यास्पद लाग्छ । केन्द्रिय चलचित्र जाँच समिती(सेन्सर बोर्ड)ले रुढिवादी भ्रम श्रृजना गर्ने र आत्महत्या दुरुत्साहन हुने केही दृश्य हटाउनु जरुरी थियो ।
निर्देशक समेत रहेका अरुण लामाले आफू पात्र रहेको लालेलाई शक्तिशाली र अरु पात्रहरु कमजोर रुपमा प्रस्तुत गरेका छन् ।
पात्रहरु चिच्चाएर संवाद बोलेको सुनिन्छ । अभिनयमा नयाँपन श्रृजनाशीलता र कलात्मक भेटिन्न । संवाद ज्यादै कमजोर छ । चलचित्र हेरिरहँदा निन्द्रा लाग्छ । कथा फटाफट अघि बढिरहँदा दृश्य पत्यारलाग्दो छैन ।
कथाकार लामाले चलचित्रमा हरर र सस्पेन्स श्रृजना गर्ने कोसिस गरे पनि निरर्थक छ । जंगल र आत्महत्याका दृश्यले डर लाग्दैन । बरु कमजोर अभिनयले दया लाग्छ ।
सुन्दर पक्ष
चलचित्रभित्र ‘यो चाही गज्जव छ है’ भन्ने कुरा भेट्टाउन मुस्किल पर्छ । कलाकार प्रविण खतिवडाको भकभके संवाद नयाँ लाग्छ । सजन श्रेष्ठको इन्ट्रि पनि चाखलाग्दो छ । स्पाइडर म्यानको नृत्यले दर्शकलाई अड्याएको छ ।
अरुण लामा
निर्देशक कथाकार र अभिनेता अरुण लामा मुख्य भूमिकामा छन् । आफ्नै निर्देशनमा बनेको चलचित्रमा उनको अभिनय कमजोर छ । लालेको भूमिकामा देखिएका अभिनेता अरुण लामाले चलचित्र खेल्न रहर पुरा गरेझैं लाग्छ ।
अञ्जना बराइली(आरती)
औसत भूमिकामा देखिएकी अभिनेत्री अञ्जना बराइलीले सामान्य चरित्र निभाएकी छिन् । पात्र र भूमिकाको हिसावले निरिह देखिएकी अभिनेत्री बराइलीले पात्रको रुपमा उभिएर फटाफट संवाद मात्रै बोलेको जस्तो लाग्छ । यो उनको करिअरकै कमजोर चलचित्र हो ।
विरेन्द्र सिंह कुशवाहा
चलचित्रमा कलाकार कुशवाहले औसत राम्रो अभिनय गरेका छन् । तान्त्रिक मन्त्र र डोरीमा बेरिएको दृश्यहरुमा उनले दर्शकलाई मनोरञ्जन दिएका छन् ।
राज पौडेल
लालेको साथीको भूमिकामा चाँदप्रसाद घिमिरे पात्रको रुपमा राज पौडेलको अभिनय हेर्न सकिन्छ । पौडेलको अभिनय तुलनात्मक रुपमा राम्रो छ ।
कलाकारको भूमिका निर्देशकीय पक्षको कमजोरीले हुनसक्छ सजन श्रेष्ठले हाँसोलाग्दो छैन । शिशिर वाङदेनको ड्रागन गुरु खलपात्र अरु चलचित्रमा झैं उस्तैदुरुस्तै छ । प्रकाश घिमिरे, लक्ष्मी गिरी,पुस्कर गुरुङ,प्रविण खतिवडा र कविता आलेलगायत कलाकारहरुको भूमिका र अभिनय टिठलाग्दो छ ।
प्राधिधिक पक्ष
चलचित्रमा प्राविधिक विषयहरु पनि चर्चा गर्न लायक छैनन् । चुच्चे ढुंगो उहि टुंगो बोलको गीतमा अभिनेता आर्यन सिग्देलले ‘नाच्न जान्दैन आँगन टेडो’ शैलीको नृत्य देखिन्छ । झारा टार्ने यो गीतबाहेक चलचित्रमा गीत संगीतको प्रभाव छैन । राजु तामाङको द्वन्द्वको खास प्रभाव छैन । विजिएम झर्कोलाग्दो छ । सौरभ लामाको डिओपि लोभलाग्दो छ । छायाँकनका कतिपय ड्रोन फुटेजका दृश्य आचार्यजनक लाग्छ । मिलन श्रेष्ठको सम्पादन राम्रो छ । रेनिस फागेले दृश्यहरुमा प्राकृतिक रंग भरेका छन् ।
अन्तमा,
नेपाली चलचित्र किन कमजोर छ ? भन्ने उदाहरण दिन मिल्ने डोरीजस्ता नेपाली चलचित्रले दर्शक भाँडिरहेका छन् । रहर पुरा गर्न निर्देशक,लेखक र अभिनेता बन्ने प्रवृति रहेसम्म चलचित्र क्षेत्र उभो लाग्दैन ।
पछिल्लो समय रोजगारीकै लागि कलाकारहरु चलचित्रमा अनुबन्धित भइरहेको भान हुन्छ । कमजोर चलचित्रले आफ्नो करिअर नै दाउमा लगाइरहेका कतिपय कलाकारहरुलाई राम राम भन्न सकिन्छ ।
परम्परा धान्ने यस्ता चलचित्र किन र के का लागि हेर्ने? निर्देशकसँग तथ्यपरक उत्तर हुनु जरुरी छ । आत्महत्याजस्तो र गम्भिर विषयबस्तुलाई हल्का ढंगले प्रस्तुत गर्ने गल्ती गरिएको छ । राजनीतिक र स्वार्थनिहित विषयबस्तुमा कैची चलाउने सेन्सरबोडृको आँखा यस्ता विषयमा पनि पर्नु जरुरी थियो । चलचित्र हेरेपछि धेरैको मनमा एउटै प्रश्न आउछ, ‘निर्देशकज्यू चलचित्रमार्फत आत्महत्या दुरुत्साहन भएन र ?’
प्रतिक्रिया