ललितपुर । ललितपुर भट्टेडाँडा चेकप्वाइन्टमा खटिएका प्रहरीले शनिबार बिहान पौने २ बजेतिर ट्रामाडोलसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । रातिको समयमा चेकजाँच गर्न खोजेपछि एम्बुलेन्स चालक २२ वर्षीय भारतीय नागरिक मोहम्मद उमर सिद्दिकी स्टेरिङ छाडेर भागेका थिए । सिद्दिकी भारतीय नागरिक हुन् ।
भारतीय नम्बर प्लेटको एम्बुलेन्स भारतबाट नै आएको थियो । चालक भागेपछि प्रहरीले त्यसमा अवैध सामान ल्याएको शंका लागेपछि चेकजाँच गरेको थियो । चेकजाँच गर्दा बिआर–०५ पिए–०४२१ नम्बरको एम्बुलेन्समा ९४ हजार ८० ट्याब्लेट लागुऔषध ट्रामाडोल फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र एसएसपी अधिकारीले पत्रकार सम्मेलन गरेर विवरण सार्वजनिक गरेका छन् । एम्बुलेन्समा बिरामी पनि थिए । बिहारस्थित रक्सौलबाट ४५ वर्षीया नोर्जान खातुन उपचार गराउन नेपाल आउँदै थिइन् । साथमा दुई जना बच्चा पनि छन् । कागजात परीक्षण गर्दा नोर्जान उपचार गराउन नेपाल आएको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जानकारी दिएका छन् ।
एम्बुलेन्सका मालिक भारत मोतिहारीका ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, मोतिहारी घर भएका २० वर्षीय समिर आलम र चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी लाई प्रहरीले सार्वजनिक गरेको छ । चेक प्वाइन्टबाट भागेका चालक सिद्दिकीलाई शनिबार बिहान साढे ६ बजेतिर कान्ति लोकपथको छपेलीबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया